शनिवार, आश्विन २४ गते २०८३

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, सांसदहरुलाई राखियो होटलमा

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । यसअघि कात्तिक २३ गते बोलाइएको बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख प्रदीप कुमार भण्डारीले आजसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरेका थिए।

संविधानको धारा १६८ को (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यही प्रावधान बमोजिम मुख्यमन्त्री राईले आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको विपक्षमा मतदान गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार