शुक्रवार, आश्विन २३ गते २०८३

देशभर विप्लवको नेपाल बन्द, यस्तो छ प्रभाव!

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर नेपाल बन्द आह्वान गरेको छ।

नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि यात्रुले सास्ती भोगेका छन्। लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुलाई बिहानै सास्ती भएको छ। विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका हुन्।

काठमाडौंका कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरूले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि गाडी पाइएका छैनन्। अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरू समेत चोकचोकमा अलपत्र परेका छन्। बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाडौं आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगन्य रहेका छन्।  

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन भएका छन्। चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो रहेको छ। सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी सामान्य रूपमा चलिरहेका छन्।

बन्द आयोजक नेकपाले अत्यावश्यक सेवाहरू मेडिकल, अस्पताल, एम्बुलेन्स, दुध र तरकारी ढुवानीका साधन खुलै रहने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार