काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत मागेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन्। मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए।
तर एमालेले बैठक स्थगित गर्न माग गरेसंगै उनले विश्वासको मत पाएनन्। नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो।
९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन्। प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन्।
यसैविच प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले राई नेतृत्वको सरकारलाई काँग्रेसको समर्थन र सहयोग रहने बताए भन्दै गठबन्धनको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरेका छन्। केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको उनको दावी छ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको र सोहीअनुसार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बनेको बताए।
त्यस्तै प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।