काठमाडौं। पर्वतमा कांग्रेसको जिल्ला सभापति उम्मेदवारले दर्ता शुल्क ५० हजार रुपैया तिर्नुपर्ने भएको छ। ले जिल्लाको निर्णय अनुसार केन्द्रको अध्यक्ष उम्मेदवार भन्दा जिल्ला सभापतिका उम्मेदवार महंगोमा पर्ने भएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन निर्देशिका अनुसार केन्द्रीय सभापति बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तय गरिएकोमा पर्वता जिल्ला सभापति उम्मेदवारी दर्ताका लागी भने २० हजार बढी ५० हजार तोकिएको छ। कांग्रेस पर्वत जिल्ला कार्यसमितिले जिल्ला सभापति पदमा उम्मेदवार दिनेले ५० हजार रुपैयाँ मनोनयन दर्ता गर्दा तिर्नुपर्ने निर्णय गरेको छ।
जुन केन्द्रीय सभापति पदका उम्मेदवारले भन्दा २० हजार महँगो हो। केन्द्रीय निर्वाचन निर्देशिकाविपरीत जिल्ला र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्दा नै अत्याधिक शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तै, पर्वतमा प्रदेश सभा क्षेत्रीय सभापति पदका उम्मेदवारले पनि तोकिएकोभन्दा धेरै शुल्क तिर्नुपर्ने भएको छ।
केन्द्रीय निर्वाचन निर्देशिकाले प्रदेश सभा क्षेत्रीय सभापति बन्न उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकेको छ। पर्वतमा भने तीन गुणा बढाएर उम्मेदवारी दर्ता शुल्क १५ हजार पुर्याइएको छ। सभापति पदमा मात्र नभई सबै पदका उम्मेदवारको मनोनयन दर्ता शुल्क बढाएको कांग्रेस पर्वतले जनाएको छ। कांग्रेस पर्वत जिल्ला कार्यसमितिको गत बुधबार बसेको बैठकले मनोनयन शुल्क बढाउने निर्णय गरेको हो।