काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आज राजनीतिक दलको ध्यानाकर्षण गराउने भएका छन्।
नेपाल बार एसोसिएसनको अगुवाइमा संघीय संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलको कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराउन लागिएको हो। दिउँसो २ बजेपछि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित दलहरूको संसदीय दलको कार्यालयमा ध्यानाकर्षण पत्र दिन लागिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।
न्यायालयमा देखिएको समस्या धेरै लामो समयसम्म रहन नहुने भन्दै समाधानको पहल गर्न आग्रह गर्दै ध्यानकर्षण पत्र दिन लागिएको श्रेष्ठले बताए। कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन माग गर्दै आएका छन्। बारले यसअघि गर्दै आएको कालोपट्टीसहितको धर्ना र विरोध सभाको कार्यक्रमलाई आज पनि निरन्तरता दिने जनाएको छ।
बिहान १० देखि १२ बजेसम्म देशभरका अदालतमा धर्ना र विरोधसभा कार्यक्रम हुनेछ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसियसनले कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ। बेन्च बहिस्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु भने गोलाप्रथाबाट पेशी तोक्ने निर्णयपछि काममा फर्किएका छन्।