काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाको माटो सङ्कलन गर्ने भएका छन्। पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।
मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकामा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए।
स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो सङ्कलन गर्नेछन्। मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रमको सुरुवात गरिने सिंहले बताए।
जनमत पार्टीका अध्यक्ष राउतले चुनावलाई केन्द्रीत गरी सो कार्यक्रमको सुरुवात गर्न लागेका हुन्। माटो सङ्कलन अभियान भनिए पनि खासमा यो पार्टी संगठन विस्तारको अभियानसँग जोडिएको छ।