शुक्रवार, आश्विन २३ गते २०८३

यस्तो निर्णय गर्नका लागि सर्वोच्चको फुलकोर्ट बस्दै

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। गोला प्रक्रियाबाट इजलास तोक्न सुरु गर्ने मितिबारे निर्णय गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बैठक आज बस्दैछ। 

हिजो १८ न्यायाधीशबीच भएको छलफलले मंसिर १५ देखि गोला प्रक्रिया सुरु गर्ने सहमति गरेको थियो। सहमति अनुमोदन गरी निर्णय गर्न आज फुलकोर्ट बैठक बोलाइएको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी पूरा भइसकेको छ।

१८ जना न्यायाधीशको निर्णय बमोजिम मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नेछन्। सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिस्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन्। 

उनीहरुले आज फुलकोर्ट बस्नुअघि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्दैछन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित भएपछि इजलास फर्किन लागेका हुन्। नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकमा आफ्नो सहमति नरहने जनाउँदै निरन्तर आन्दोलनमा छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार