शुक्रवार, आश्विन २३ गते २०८३

सर्वोच्चबाट बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिँदै

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त र्‍याली गर्ने भएका छन्।

बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने छ। र्‍यालीमा बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघ लगायत सहभागी हुनेछन्।

प्रधानन्यायाधीश जबरामाथि न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप लाग्दै आएको छ। तर राजनीतिक दलका नेताहरू यस विषयमा मौन बसेका छन्। राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउन पनि आज बालुवाटार न्याय मार्च आयोजना गरिएको पेशागत संगठनका अगुवाहरुले बताएका छन्।

एक महिना अघिदेखि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले उनको राजीनामालाई बटमलाइन बनाएका छन्। सर्वोच्चका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन्। आन्दोलनको परिणामस्वरुप प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने निर्णय गरिएको छ। गोला प्रक्रियाबाट इजलास तोक्ने निर्णय कार्याव्यन कहिलेदेखि सुरु गर्ने भनेर निर्णय गर्न आज सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बस्दै छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार