काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट पराजित भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम–२ मा भएको निर्वाचनमा बराबर मत आएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा सांसद विष्ट पराजित भएका हुन्।
सांसद विष्ट र क्षेत्रीय सभापति लक्ष्मण शाहको बराबर मत आएको थियो। दुबैले ३८७ मत पाएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधि जितेका शाह भने उपचारका लागि काठमाडौमै छन्।
उनले वारेसनामार्फत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्। १३ औं महाधिवेशनमा पनि शाह गोलाप्रथाबाटै क्षेत्रीय सभापति निर्वाचित भएका थिए। अछाम क्षेत्र नम्बर २ बाट अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापन समूहका निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा पुष्प शाह, नमबहादुर शाही, लक्ष्मण शाह, मानबहादुर शाही, वेदप्रकाश तिमिल्सिना, पदमराज अधिकारी, गणेशबहादुर विष्ट, सुरत बहादुर विष्ट, यज्ञप्रसाद ढकाल, अम्बिका चलाउने, अन्जु मल्ल शाह, भूमिशरण बजगाईं र अम्बिका कुमारी थापा महाधिवेशन प्रतिनिधि छानिएका छन्।
त्यस्तै पूर्णा शाह, वसन्ती विष्ट, वेलुदेवी साउद, दुर्गा कुमारी विक, टेकबहादुर विक, कमल विक, नवराज चलाउने, ओमजंग रावल र कृष्णप्रसाद ढकाल पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्। उनीहरु सबै संस्थापन समूहका हुन्।