काठमाडौं। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुनर्संरचना गर्ने भएको छ । मन्त्रालयलाई संघीय मामिलामा केन्द्रित गर्न कर्मचारी प्रशासनका विषय हेर्न केही विभागहरु खडा गर्ने र महाशाखाहरुलाई परिमार्जन गर्न थालिएको हो । मन्त्रालयका सहसचिव बसन्त अधिकारीको संयोजकत्वमा गठित कार्यदलले केही दिनमा मन्त्रीलाई प्रतिवेदन बुझाउदैछ ।
न्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव अधिकारीले कर्मचारीको सरुवाहरुमा आफ्नो जनशक्तिको ८० प्रतिशत मेहनत र समय खर्चेको मन्त्रालयले अब त्यसका लागि छुट्टै विभाग नै खडा गर्न थालेको।
प्रशासनिक पुनर्संरचना गर्दा मन्त्रालयको संख्या घटाउने क्रममा स्थानीय विकास मन्त्रालयलाई संघीय मामिला समेत हेर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बनाइएको थियो। संविधान जारी भएपछि मन्त्रीहरुको संख्या २५ मा सीमित गर्ने योजना अनुसार, मन्त्रालयको संख्या समेत घटाइयो।
त्यसक्रममा संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयलाई गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइयो। करिव पाँच वर्षपछि अब मन्त्रालयको संरचना फेर्न थालिएको हो ।
उनका अनुसार, मन्त्रालयले प्रदेशहरुविचको समन्वय, प्रदेशसँग संघीय सरकारको समन्वयका साथै स्थानीय तहसँगको समन्वय गर्ने फोकल मन्त्रालयको रुपमा संघीय मामिला तथा स्थानीय मन्त्रालयलाई रुपान्तरण गर्ने खाका तयार हुनेछ र त्यो मन्त्रिपरिषदमा पेश हुनेछ।
संघ, प्रदेश तथा स्थानीय तह अन्तरसमन्वय ऐनमा समेत यस्तो जिम्मेवारी प्रधानमन्त्री कार्यालयलाई तोकिएकाले दीर्घकालिन रुपमा ऐन संशोधन गरेर भएपनि पुनर्संरचना गर्नुपर्ने हुनसक्ने प्रवक्ता अधिकारीले बताए ।