काठमाडौं। तराईंमा बाक्लो हुस्सुका कारण कम भिजिविलिटी हुँदा आन्तरिक उडान प्रभावित भएको छ ।
यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ। भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ।
प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क गर्न भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराउदै भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको जनाएको छ।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कणर्ले भने, “तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ। केही विमानस्थल अपराह्नपछि खुल्छन् की भन्ने प्रतिक्षामा छौं। उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ।”