काठमाडौं। काठमाडौंबाट मलेसिया र दुबईका लागि हिजो राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन्। व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेको र क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण रोकिएका हुन्।
अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आराम (रेस्ट-आवर) का लागि निगमले जहाज उतै राख्नु परेको हो ।
नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हड्तालले यात्रुलाई सेवा दिने क्याबिन क्रु (विमान परिचारिका र परिचारक) को अभाव भएका कारण निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन सकिरहेको छैन ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै क्याविन क्रु संघले करार नवीकरण नगरेसमम उडान नगर्ने निर्णय गरेको छ ।
जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु हिजोदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो ।