बिहिवार, कार्तिक ६ गते २०८३

प्रदूषण सम्बन्धि मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जरिवाना

शुक्रवार , पौष १, २०७९

काठमाडौं। वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जरिवाना गर्ने भएको छ ।

विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुला रूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।

विभागले प्रदूषण जाँच गरेर मात्रै गाडी चलाउन आग्रह गरेको छ । विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ ।

अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ ।

छड्के जाँचमा प्रदूषण जाँच पासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुला रूपमा फोहर जलाउने तथा खुला रूपमा फोहर जलाएको पाइएमा गोप्य रूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुला रूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्कासनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जरिवाना गरिने भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार