काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।
पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताएका हुन्।
संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गको र केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको बताए।
नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए।