काठमाडौं। भारतबाट डिजलको मूल्य घटेर आएको छ । इन्डियन आयाल कर्पोरेसन (आइओसी)बाट डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको हो ।
त्यस्तै पेट्रोलको मूल्य भने लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ ।
यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबड हुने गरेको छ ।
यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो । यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो। भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले उच्च नाफा राखेर उपभोक्ताहरुलाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो ।
दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । मूल्य घटाएपछि अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ ।
निगमले राष्ट्र बैंक र आइओसीलाई अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको छ । नयाँ मूल्यले निगमलाई कति नाफा हुन्छ खुल्न सकेको छैन् । आज शोक बिदा भएकाले नाफा घाटा भोलि मात्र एकिन हुने निगम श्रोतले जनाएको छ ।