रौतहटमा खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर आज दुई पक्षबीच झडप भएको छ ।
जिल्लाको बृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र बिश्रामपुर खोलामा भएको झडपमा दुई पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् ।
नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा आज अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।
घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर-चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् । वाग्मती नदीको दुबै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो ।
यहीबीच हिजो नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए ।
नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरु मिलेर आज घाटमा रसिद काट्न थाले पछि झडप भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उहाँलाई कारबाहीको माग अघि सारेका छन् ।