अमेरिकी विदेशमन्त्रालय अन्र्तगतको आतंकवाद ब्यूरो अफ काउन्टर टेररिजम्ले नेपालको विमानस्थल सुरक्षा कमजोर र अपर्याप्त रहेको निष्कर्ष निकालेको छ ।
गत मंगलबारमात्रै प्रकाशित गरेको ३३० पृष्ठ लामो वार्षिक प्रतिवेदन २०२१ को १७९ र १८० मा नेपालबारे उल्लेख गरिएको छ । जसमा व्यूरोले सरकारलाई सुझाउदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको प्रि-स्क्रिन नगर्ने तथा र अवतरण डाटा समेत कुनैपनि डाटाबेसमा प्रविष्ट नगरिएको उल्लेख गरेको छ ।
ब्यूरोले आफ्नो प्रतिवेदनमा नेपाल प्रहरीको विशेष ब्यूरोको टोली विमानस्थलमा खटाएपनि यात्रुहरूको डाटाबेसमार्फत नियमित रूपमा जाँच नहुने विषय उल्लेख गरेको छ।
उसले नेपालका सुरक्षा अधिकारी र अध्यागमन अधिकारीहरू सामान्यतया अमेरिकाप्रति उत्तरदायी देखिए पनि थोरै सूचना मात्रै अमेरिकालाई दिँदै आएको प्रतिवेदनमा प्रस्ट्याएको छ ।
नेपाल-भारत खुला सिमानाका र हजार माइलमा चेकपोस्टहरू राखिएका कारण सीमा जाँच प्रभावकारी नभएको कुरा ब्यूरोले प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालमा सुरक्षा सेवाहरूमा प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न कर्मचारी, प्रविधि, डाटाबेस, आधारभूत उपकरण र प्रायः विद्युतीय शक्तिको अभाव रहेको ब्यूरोको ठम्याई छ ।
आतंकवादको वित्त पोषणको विरुद्धमा कुनै परिवर्तन नभएको र नेपालमा हिंसात्मक चरमपन्थीहरूमा भर्ती हुन नदिन वा पूर्व हिंसात्मक अतिवादीहरूलाई पुनर्स्थापना गर्ने कुनै सरकारी वा नागरिक समाजका कार्यक्रमहरू नरहेको विषय ब्यूरोको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नेपाल सरकारले अन्तर्राष्ट्रिय आतंकवादलाई राजनीतिक, कूटनीतिक वा आर्थिक सहयोग नगर्ने र जानीजानी नेपालले आतंकवादी वा आतंकवादी समूहका लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग गर्न अनुमति नदिने विषय उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ,‘ भारतसँगको खुला सिमाना र देशको एकमात्र सञ्चालनमा रहेको काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंककारीहरुका लागि ट्रान्जिट वा मञ्चको रूपमा प्रयोग गर्न सकिन्छ।’