काठमाडौं । कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको बताइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार कोरियामा २४ घन्टा यताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।
अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरियाको राजधानी सेउलबाट प्राप्त समाचारअनुसार राजधानी सेउल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।
समाचार अनुसार कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको छ । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यजुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।
यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरियामा कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।
कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।