बिहिवार, आश्विन २२ गते २०८३

आफ्नै कार्यकालमा कानून बनाएर मिटरव्याजीलाई कारवाही गर्ने प्रधानमन्त्रीको आश्वासन

शनिवार , चैत्र १८, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ । 

उनले आफ्नै कार्यकालमा कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ ।

शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार