काठमाडौं। नेकपा (एमाले)ले आगामी वैशाख १० गत हुने उपनिर्वाचनका लागि नेकपा एमालेले २ क्षेत्रका उम्मेदवार टुंग्याएको छ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाए पनि बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाउन सकेन ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकपछि दिएको जानकारीअनुसार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका नेता सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निणर्य गरिएको पनि गुरुङले जानकारी दिए ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा भने कसलाई उम्मेदवार बनाउने भन्ने निणर्य भइनसकेको गुरुङले बताए ।
बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन उम्मेदवारबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ उपाध्यक्ष, महासचिव, जिल्लाका नेताहरूसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने निणर्य भएको गुरुङले बताए ।