मधेस प्रदेश सरकारमा सहभागि नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री सरोजकुमार यादवले आग्रह गरेपछि उनीहरुले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो राति मुख्यमन्त्री यादवले एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई फोन गरेर सरकारबाट राजीनामाका लागि आग्रह गरेकाे थिए।
सरकारमा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधन प्रसाख सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री रहेका थिए।
एमालेकी प्रदेश सांसद शारदादेवी थापाले मुख्यमन्त्री यादवले राजीनामा मागेकाले पार्टीका मन्त्रीहरुले राजीनामा बुझाएको बताइन्। एमालेका मन्त्री हटाएसँगै मुख्यमन्त्री यादवले ती मन्त्रालयमा कांग्रेसलाई ल्याउने तयारी गरेका छन्। यसका लागि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
एमालेले सर्मथन फिर्ता लिएसंगै मुख्यमन्त्री यादवले १ महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । एक सय ७ सदस्सीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९-९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक-एक जना सांसद छन् ।
एमाले र जनमत मधेस सरकारबाट हटे पनि मुख्यमन्त्री यादवलाई सरकार टिकाइराख्न बहुमत भने पुग्नेछ ।