काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले बयान लिएको छ ।
रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।
रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए। निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ । मंगलबार अबेरसम्म प्रतिवेदन पठाइने समितिका संयोजक भरत देवकोटाले जानकारी दिए।
समितिले अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । यद्यपि समयाभावका कारण अडियोको फरेन्सिक टेस्ट गरिएको छैन । ढाकाले भने अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन्।
उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरे। समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निणर्य लिइने बुझिएको छ ।