काठमाडौं । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ ।
मन्त्रालयले बुधबार सबै जिल्लाका लागि पत्र जारी गरी मन्त्रालयले त्रिवि, लोकसेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीको आवागमन समेतलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए । उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ । कोभिडका कारण सरकारले वैशाख १६ गतेबाट लामो दूरीमा चल्ने सवारीसाधनमा रोक लगाएको थियो ।