काठमाडौं । महोत्तरीमा एक पुजारीले १२५ वर्षमा देहत्याग गरेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका–४, डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको १२५ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ ।
५० वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनि शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए ।
स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग नगरेका बताइएको छ । पुजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरूको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने जनविश्वास रहिआएको थियो ।