काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम चाँडै पठाउने कांग्रस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रचण्ड देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रचण्डले चाँडो मन्त्री पठाउन भनेका हुन् ।
८ मन्त्री र एक राज्यमन्त्री पाएको कांग्रेसले ४ मन्त्री र एक रज्यमन्त्री पठाउन बाँकी छ । देउवासँग शेखर-गगन समूह असन्तुष्ट बन्दा मन्त्रीको नाम टुंगो लाग्न सकेको छैन ।
यद्यपी सो समूहले आफूहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेगरि सहमति भएको दावी गरेको थियो । यद्यपी मन्त्रै बन्नेहरुको नाम टुंगो नलागेको बुझिएको छ । सो पक्ष उपनिर्वाचनपछि मात्रै सरकारमा जाने मनस्थितीमा पनि देखिएको छ ।
गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्लाई पूणर्ता दिन सकेका छैनन्। सरकारले पूणर्ता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ ।
आजको बैठकमा वैशाख १० को उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ । वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ ।
गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठ तथा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उपनिर्वाचनमा रास्वपाले तनहुँ १ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, चितवनमा रवि लामिछाने र बारा २ मा पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा एमालेले तनहुँ १ मा पूर्वआईजीपी सर्वेन्द्र खनाल, चितवन २ मा रामप्रसाद न्यौपाने र बारा २ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।