काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले सदनमा राष्ट्रिय गौरवका आयोजनाबारे चांसो राखेका छन् । सोमबार बसेको सभाको बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुनेगरी नीतिगत निणर्य गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो सम्पन्न हुनेगरी अघि बढाउनका लागि कुनै पनि समस्या नआउने गरी आवश्यक निणर्य लिन सरकारले ढिलाई गर्न नहुने बताईन्। ती आयोजना अघि बढाउन लागि अन्तर मन्त्रालयबीचको समन्वयमा पनि जोड दिन उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
यस्तै रामचन्द्र राईले आयोजना सुरु र अन्त्य हुने बर्ष स्पष्ट रुपमा उल्लेख गरेपनि त्यसअनुसार काम नभएको भन्दै आक्रोश व्यक्त गरे। सांसद राईले निजगढ अन्तराष्ट्रिय विमानस्थल अघि बढाउने विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए। बुढीगण्डकी आयोजना र भैरहवा विमानस्थललाई गेम चेञ्जरको आयोजनामा समावेश गरिएपनि तीनको दिगोपनाबारे आवश्यक योजना तत्काल सार्वजनिक गर्न उनको माग छ ।
यस्तै सांसद सोनाम ग्याल्जेन शेर्पाले सरकार संसद र संसदीय समितिप्रति जवाफदेही नभएको भन्दै दुःखेसो गरे। समितिहरुले दिएको निर्देशन कार्यान्वयन गर्न भन्दा पनि सरकार र सरकारका मन्त्रीहरु झारो टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्तिसमेत जनाए।
खोकना र बुङमतीको जग्गाको विवाद सुल्झाऊ भनेर २०७६ सालमै सरकारलाई निर्देशन गरेपनि काम अघि नबढेको भन्दै सांसद शेर्पाले सरकारसँग जवाफ मागे।