एसियाली क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपको पहिलो खेलमा नेपालले बुधबार मलेसियासँग खेल्दैछ । टियु मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
१० टोली सहभागी प्रिमियर कपमा नेपाल समुह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा हुनेछ । मलेसिया पनि नेपालविरुद्धको हेड टु हेड रेकर्डमा सुधार गर्दै नेपालको उच्च फर्म तोड्ने योजनामा मैदान उत्रनेछ । तर घरेलु मैदानमा नेपालको जितको लय पनि निकै राम्रो भएकाले मलेसियालाई सहज भने पक्कै छैन।
हालसम्म नेपालले मलेसियाविरुद्ध भएका १० भेटमा ९ खेल जितेको छ भने मलेसियाले एक खेल मात्रै जितेको छ ।
यसैबीच, सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले भारत, पाकिस्तानजस्ता देशसँग खेल्ने लक्ष्यसहित मैदानमा उत्रने बताएका छन् ।
उनले एक्स्पोजर र अनुभवका लागि पनि नेपाल एसिया कपमा पुग्नुपर्ने बताए । त्यस्तै, प्रमुख प्रशिक्षक मोन्टी देशाईले कमजोर पक्षहरु पत्ता लगाएर काम गरेकाले मैदानमा शतप्रतिशत नतिजा निकाल्ने गरी खेल्ने बताए ।
नेपालले देस्रो खेलमा वैशाख ८ गते ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारसँग खेल्नेछ । प्रतियोगिताको उपाधि जित्ने टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एकदिवसीय एसिया कपमा छनौट हुनेछ ।
प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । यस्तै, समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।