इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले रोयल च्यालेञ्जर्स बेंगलोरमाथि रोमाञ्चक जित निकालेको छ। गएमंगलबार राती घरेलु मैदान एम चेन्नास्वामीमा बेंगलोर चेन्नईसँग आठ रनले पराजित भएको हो।
चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाउँदै २१८ रन बनायो। ग्लेन म्याक्स वेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेले पनि बेंगलोरलाई जित दिलाउन सकेनन्।
म्याक्सवेलले ३६ बलमा ३ चौका र आठ छक्कासहित ७६ रन बनाउँदा कप्तान डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए। बेंगलोरलाई तेस्रो विकेटका लागि म्याक्सवेल र डु प्लेसिसले शतकीय समझेदारी गराएका थिए। दुई बीच ६१ बलमा १२६ रनको शतकीय साझेदारी गरे। बेंगलोर १२ ओभरमा १४१ रनमा दुई विकेट गुमाएर बलियो अवस्थामा रहे पनि बाँकी ७७ रन जोड्दा ६ विकेट गुमाएर पराजित भयाे।
काश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रन बनायो। चेन्नईका लागि ओपनर डेभन कन्वे र शिवम् दुबेले अर्धशतकीय इनिङ खेले।
कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान गर्दा शिवम् दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए। तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरे।
अजिंका रहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोड्दै आउट भए। दोस्रो विकेटका लागि कन्वे र रहाणेले ७४ रनको साझेदारीका गरेका थिए। मोईन अली १९ रनमा अविजित रहँदा अम्बाती रायुडु १४ रनमा आउट भए। रविन्द्र जडेजा १० रनमा आउट भए।
४५ बलमा ८३ रनको पारी खेलेका चेन्नईका ओपनर डेबल कन्वे ‘प्लेयर अफ द म्याच’ बने।
चेन्नई पाँच खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ। बेंगलोर पाँच खेलमा तीन हारसहित सातौँ स्थानमा छ।