बिहिवार, आश्विन २२ गते २०८३

उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, राती १२ बजेदेखि प्रचारप्रसार निषेध

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं। निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पूरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

उनले निर्वाचनका लागि सम्पूणर् सामग्री मतदान स्थलमा पुगिसकेको पनि बताए।

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइने छैन ।

यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ-आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

यसैबीच, उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

निर्वाचन हुने दिन पनि सार्वजनिक गाडी समेत चल्नेगरी सुरक्षाको व्यवस्थापन गर्न र मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरणमा रोक लगाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ । आयोगले आफ्ना उम्मेदवार छान्न भयरहित वातावरणमा मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार