काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मौन अवधिमा हुने चलखेलको निगरानी गर्न कार्यकर्ता र स्थानीयहरुलाई आग्रह गरेका छन्।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। पछिल्लो समय आफूमाथि प्रहार गरेर नेपाली जनताले बालेको आशाको दियो निभाउने प्रयास भईरहेको बताउदै नेपाली जनताको मुद्दा किनारा लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, ‘गत निर्वाचनमा तपाईंहरुले रोपेको विरुवा हुँ म । त्यो विरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरुलाई संकलन गरेर मल बनाएका छौं । हामीले त्यसलाई प्रयोग गर्नेछौं । यसपटक मल त हालिसकेका छौं । अब जल हाल्ने जिम्मेवारी तपाईंहरुको हो ।’
लामिछानेले लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा रहेको बताउदै यसपल्ट आफूलाई मलजल गर्न आग्रह गरे। उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए।
अहिले आफूलाई मलजल गरे अर्को चुनावमा संसदभरी रास्वपाका सांसद हुने भन्दै लामिछानेले त्यसको जस पनि चितवनले नै पाउने समेत बताए।