काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।
बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको छ ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो । छलफलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो ।
जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ ।