काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्र्तगत आजका खेलमा खुमलटार र मछिन्द्रले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज मनाङलाई एफसी खुमलटारले २-१ गोल अन्तरले हराएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे ।
मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।
यस्तै आजै भएको अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जित निकालेको छ । च्यासल मैदानमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे । फ्रेन्ड्सका राफिक अमिनुले एक गोल फर्काए ।
मछिन्द्रको यो चौंथो जित हो । मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।