लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिश्वासको मत प्राप्त पाउन असफल भएका छन्। कुल ८७ मत मध्य पक्षमा ३३ मत र बिपक्षमा ५३ मत भएको प्रदेश सभामुख तुलाराम घर्ती मगरले जानकारी गराए।
लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका हुन\।
अव भने गठबन्धनका तर्फबाट नेपाली काग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको दावी गर्ने बाटो खुलेको छ । चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले २९ सांसद सहित ठूलो दल हो ।
कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत, जसपा र लोसपाका तीन–तीन, एकीकृत समाजवादी र राजमोका एक–एक सांसद तथा स्वतन्त्र तीन सांसद रहेका छन् ।