बुधवार, आश्विन १४ गते २०८३

एसिसी प्रिमियर लिग: ओमान र युएई सेमिफाइनलमा प्रवेश

बुधवार , बैशाख १३, २०८०

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । यो जितसँगै ओमनले चार खेलमा ६ अङ्क बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओमनले साउदी अरेबियालाई जितको लागि तीन सय ६७ रनको चुनौती दिएको थियो । जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९४ रनमा समेटियो । साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुलल वहिलले ९५ रनको योगदान गरे । उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगदान गरेका हुन् ।

त्यस्तै साद खानले ७८ रन बनाए । उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे । हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रेहमानले १६ तथा इम्रान अरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेकनन्

बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडेद्राले तीन विकेट झारे । जिसन मोक्सुदले दुई विकेट लिँदा आयन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरेका थिए । 

ओमनका जीतेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउदाँ स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । 

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको समाना गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

यस्तै

समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा ग-यो । 

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए ।

बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३/२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए । 

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई/दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार