काठमाडों। फरार अभियुक्त एमालेका सांसद लक्ष्मी महतो कोईरीको बिषयले सत्तारुढ दलकै सांसदहरुले संसदमा अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले कोईरीसहितका सांसदको ’बिरामी बिदा’ स्वीकृत गर्न खोजेपछि संसदमा विरोध भएको हो । अरु सांसदको विदा स्कीकृत गराउन सकिने भएपनि फौजदारी अभियोगमा प्रतिवादी कोईरीलाई अदालतले थुनामा पठाउन आदेश दिएको र फरार अभियुक्तलाई विरामी छ भनेर पत्याउन नसकिने भएकाले बैठकमा अवरोध गर्नुपरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
यस्तै रास्वपाका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा कोईरीलाई फरार अभियुुक्तका रुपमा खोजी गर्दा भारत गएको र त्यहाको प्रहरीले नियन्त्रणमा लिएको फोटोसहितको प्रमाण समेत उनका आफन्तमार्फत आफूले पाएको बताए। उनले फरार सांसदलाई विरामी भनेर करार गरिनु लोकतन्त्रका लागि हास्यास्पद भएको बताए।
लगत्तै एमालेका सांसद रघुजी पन्तले फरार अभियुक्त प्रमाणित भए कोईरीलाई पक्राउ गर्न चुनौती दिएका छन् । प्रहरीले सिमाना पारी रहेका धेरै अपराधीलाई पक्रेर देशभित्र ल्याएको प्रसंग सुनाउदै उनले गृहमन्त्री र प्रधानमन्त्रीको कुर्सीमा बसेर फरार अभियुक्तलाई थुन्न नसक्ने अनि संसद अवरुद्ध गर्ने? भन्दै प्रश्न गरे।
सांसदहरुको जवाफमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नयाँ नियमावलीमा फरार सूचीमा रहेकालाई हटाउनेपर्ने बिषयमा ब्यवस्था भएपछि कोईरी फरार हो वा हाईन भन्ने बिषयमा कुनै आधारहरु नआएको र कोईरीले विरामी भनेर चीठी पठाएको आधारमा संसदलाई जानकारी गराईएको जवाफ दिए।
त्यसपछि पनि सांसदहरुले अवरोध कायम राखेपनि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन्।
गत मंसिर ४ गतेको निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक बसेको थियो । आजको समेत गरी प्रतिनिधिसभाका २८ बैठक बसेका छन् । तर फरार सांसद कोइरी २१ पटक संसद्मा अनुपस्थित भएको जनाइएको छ ।
सांसदहरूको विरोधपछि सभामुख घिमिरेले आधा घण्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । संसद्को अधिवेशन अन्त्य हुने क्रममा सभामुखले १० भन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको नामावली पढेर बिदा स्वीकृत गराउने अभ्यास छ ।