काठमाडौं। राजनीतिक संलग्नतामै अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
मंगलबार पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।
उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको छ । त्यतिञ्जेलसम्म उनलाई प्रहरीको सिंहदरबार वृत्त हिरासतमा राखिनेछ । योसंगै पाण्डे सचिव पदबाट समेत निलम्बनमा परेका छन् । निजामति सेवा ऐनमा ’नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको निजामति कर्मचारी त्यसरी थुनिएको अवधिभर स्वतः निलम्बन भएको मानिने’ उल्लेख छ ।
हिजो पक्राउ परेका ‘बादल’ का सुरक्षा सल्लाहकार राईमाथि पनि अनुसन्धान भईरहेको छ । सोही प्रकरणमा उनका छोरा निरज राई पनि तानिएका छन् । उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ ।
यस्तै आजै तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको हो ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहमा राजनीतिक नेतृत्वकै साँठगाँठ खुलेको थियो । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भईसकेको छ ।
टोपबहादुर रायमाझीको प्रष्टिरण
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएका छन्।
रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्। अर्घाखाँचीको सन्धीखर्कमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई फसाउन खोजिएको बताए।