काठमाडौं। सत्ता गठबन्धनमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक राखेका थिए।
बैठकमा समसामयिक राजनीतिको समीक्षा र आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता तय गर्नेबारे छलफल भएको छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरूका विषयमा गठबन्धन दलहरूबीच साझा अवधारणा बनाउनेबारे छलफल भएको जानकारी दिए।
नेता लेखकले बैठकमा प्रधानमन्त्री दाहालले सरकारबाहिर रहेका दललाई सरकारमा सामेल गराउने र रिक्त रहेका मन्त्रालयहरूको पूणर्ता दिने विषयमा भइरहेको छलफलबारे जानकारी गराए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भएको पनि बताए। यस्तै उनले अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्ट पारे।