बिहिवार, आश्विन २२ गते २०८३

नक्कली शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

बिहिवार , बैशाख २१, २०८०

काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

रायमाझीलाई आज बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। अब उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने छ ।

रायमाझीविरूद्ध हिजो पक्राउ पुर्जी जारी भएपछि बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाजमार्फत आज बिहान काठमाडौं ल्याइएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार