बिहिवार, आश्विन २२ गते २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बिहिवार , बैशाख २१, २०८०

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएका छन् ।

उनको विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिएका छन् भने भने राप्रपाका २ जना सांसद तटस्थ बसे। ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए।

गत वैशाख १४ गते मुख्यमन्त्री बन्नुभएका पाण्डेले १५ गते सपथ ग्रहण गरे लगत्तै कांग्रेसबाट सरस्वती अर्याल तिवारी, माओवादी केन्द्रका सुशिला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।

विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूणर्ता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताए। खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झार्नुभएपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा गरिसकेका छन्। अब कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री बन्ने कांग्रेस सांसदहरूको दाबी छ ।

तर, माओवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अघिल्लो सरकारमै २ मन्त्रालय पाएकाले सोही संख्यामा सीमित हुने कांग्रेसको अडान छ । एकीकृत समाजवादीका राजीव गुरूङ (दीपक मनाङे)ले पनि मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार