काठमाडौं। नेपाली कांगे्रसका नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराए।
बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमामोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमाडिगबहादुर लिम्बु नियुक्त भएका थिए।
तीनै जना मन्त्रीहरूले आजै पदभार समेत ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निणर्य गरे।
उनले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेका हुन्।
यस्तै, नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन्। पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए।
यसैगरी, नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रका समस्या समाधानका लागि अध्ययन अघि बढाउने बताए। सबै पक्षसँग खेल क्षेत्रका अभाव र समस्याका बारेमा छलफल र अध्ययनपश्चात् समाधानसहित देशको नाम आउने गरी काम गर्ने उनको भनाई छ।