काठमाडौं। मन्त्री चयनमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कांग्रेसमा असन्तुष्टी चुलिएको छ । सत्ता गठबन्धनमा आठ मन्त्रालय पाउँदा देउवाले आफू निकटका ६ जना मन्त्री बनाएपछि बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरुले असन्तुष्टि पोखेका हुन् ।
सभापति देउवाको कार्यशैलीको विषयमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले असन्तुष्टि जनाएका हुन्।
पार्टी सहमहामन्त्री परियारले पार्टीबाट आठ मन्त्री पठाउँदा समावेशी नभएको भन्दै प्रश्न उठाएको सहमहामन्त्री डिना उपाध्यायले बताईन्। त्यसबेला परियार र देउवाको भनाभन नै परेको थियो ।
परियारको कुरा सुनेपछि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका थिए। गठबन्धनमा आलोपालोको सहमति भएकाले अर्को पटकमा ख्याल गरेर अघि बढ्ने देउवाले प्रष्टाए।
इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखिरहेको थियो । तर, सरकारमा सहभागि धनराज गुरुङ र डिगबहादुर लिम्बूबाहेक सबै देउवा निकटकै मन्त्री बनेका छन् ।