काठमाडौं। संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक बोलाईएको हो ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निकाल्न सकेको थिएन । यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए।
संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।