काठमाडाैं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भनिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले अहिले खानतलासी जारी रहेको जनाएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट झण्डै १ अर्ब रुपैयाँ उठाएर ठगि गरेको प्रकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएको १ साता बित्न लाग्दा पनि रायमाझी भने फरार छन्।
सोही ठगी प्रकरणमा प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने पक्राउ गरिसकेको छ। उनीमाथि अनुसन्धान चलिरहेको छ।