बुधवार, आश्विन २१ गते २०८३

'नक्कली शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके, क्यान्टनमेण्ट घोटलामा अख्तियारले खट्टा कमायो'

बिहिवार , बैशाख २८, २०८०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन्।

बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको पनि दाबी गरेका हुन्।

यसबारेको बिस्तृत विवरण आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्ने समेत ओलीको भनाई छ । नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको पनि बताए। यो प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको समेत बताए।

यस्तै ओलील माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्। क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन उनले आग्रह गरे। ओलीले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको समेत आरोप लगाए।

अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने ओलीको दाबी छ । ओलीले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निणर्य गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए। उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताएका हुन्। 

‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाईते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निणर्य गरेको छ’, उनले भने, ’माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निणर्य गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पलिा पनि धेरै भएका छन् । क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए। उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउन ? भन्ने हिसावले चलखेल भइरहेको आरोप लगाए। उनले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन। किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ। हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका बिरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन्।’

अध्यक्ष ओलीले भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाए। उनले संसदमा केही दिन अघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकको विषय रहेको बताए। उनले भ्रष्टाचारको बिरुद्धमा बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको बताए।

उनले भने, ‘ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको बिरुद्धमा बोल्नुभयो, सरकारको बिरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरुको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार