काठमाडौं। नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।
बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।
उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए ।
उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।
‘उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ’ परियारले भने, ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’
पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको सहमहामन्त्री परियारले बताए । प्रदेश यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा , सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको नेता परियारले बताए । यस विषयमा कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ ।