काठमाडौं। नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोज्न थालिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज लिएर अनुसन्धान सुरु गरेको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी सिआइबीले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको पुष्टि गरे। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउपुर्जी जारी भएपछि फरार छन्।
संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज सीआईबीले लगेको हो ।