काठमाडौं। नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार बिहान ११ बजेदेखि भएको प्रदर्शनमा विभिन्न संघसंस्था, राजनीतिक दलसहित स्वतन्त्र अभियान्ताको सहभागिता छ ।
उनीहरुले भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए । प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम ठगी भएको घटनामा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन हुन थालेको छ । सहभागीले भ्रष्टाचार र सरकारविरुद्ध आक्रोश पोखेका थिए ।
रास्वपाका सांसद आशिम शाहले आफू भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सदन र सडकमा उभिएको बताए। राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गरिन्। प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ? भन्दै उनले सरकारसँग प्रश्न गरिन् ।
भ्रष्टाचारविरुद्ध सबै नागरिकले आवाज उठाउनुपर्ने उनको भनाइ छ । यस घटनामा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।