काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग अदालतले बयान लिएको छ। सोमबार दिउँसो ३ दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसंगै केहीबेर बहश भएको हो ।
पक्ष विपक्षको बहसका पक्राउ परेका रायमाझीले पनि न्यायाधीश केशव अधिकारीको इजलासमा उपस्थित भएर आफ्ना कुरा राखे। त्यसक्रममा रायमाझीले आफू हर्नियाको बिरामी भन्दै केही सहुलियत न्यायाधीशसँग खोजे।
त्यसअनुसार अस्पतालमा बस्ने गरी सुविधा दिनुपर्ने आशय उनले न्यायाधीशसँग राखेका थिए। तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ रायमाझीलाई दिएका छन्।
न्यायाधीशले नाम लिएर बोलाएपछि इजलासकै बेन्चमा बसेका रायमाझी उठेर अगाडि गए। र, न्यायाधीशलाई रोस्टम अगाडि उभिनु कि यत्तिकै उभिनु ? भनेर सोधे।
त्यसपछि न्यायाधीशले उनलाई अरू थुनुवासरह उभिन भने। त्यसपछि न्यायाधीशले केही भन्नु छ भन्दै प्रश्न गरे।
जवाफमा रायमाझीले आफूसँग भन्नु पर्ने केही नभएको बताए। न्यायाधीशले फेरि सोधे कहिले पक्राउ पर्नुभएको हो ? रायमाझीले गत राति मात्र भन्दै जवाफ दिए।
इजलासमा सरकारी वकिल कार्यलयको तर्फबाट उपस्थित सरकारी वकिलाहरूले रायमाझीलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति माग गरिएको बताएपछि सरकारी वकिलको भनाइ सकिएसँगै रायमाझीले आफू प्रोस्टेटको बिरामी रहेको बताए । उनले आफू हर्नियाको विरामी भएको बताए।
तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ रायमाझीलाई दिए।
‘म पनि त्यस (हर्निया) कै बिरामी हो। म अहिले पनि म बेल्ट बाँधेर हिँडिरहेको छु, २४ घण्टा खटिरहेको छु’, उनले बहसका क्रमम भने।
त्यसपछि न्यायाधीशले प्रहरीलाई औषधिको व्यवस्था मिलाउन र एक दिन पनि रायमाझीको नियमित औषधि छुट्न नदिन प्रबन्ध मिलाउन भने। जवाफमा प्रहरीले त्यो मिलिसकेको बतायो।
त्यसपछि रायमाझीले आफूले बाहिरको खाना खान नमिल्ने र घरको सादा खाना खान पाउनुपर्ने बताए । जवाफमा न्यायाधीशले भने- त्यो त प्रहरीले नै मिलाउने कुरा हो।
न्यायाधीशले अरू भन्नुपर्ने केही नदेखेपछि भने- तीन दिन हिरासतमा राखे अनुसन्धान गर्नू ।
रायमाझीलाई हिजो साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए।
अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए।