काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो।
अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर आजसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो।