काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबारसम्ममा बुझाउने तयारी गरेको छ । प्रकरणमा प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ ।
प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । बिहीबार मात्रै भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन्।
अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उहाँमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उहाँको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, बिहीबार नै हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका थिए। पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
यसअघि सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परिसकेका छन् । पक्राउ पूजी जारी भएर पनि ईन्द्रजीत राईका छोरा निरज र रामबहादुर थापा बादलका छोरा प्रतिकसहित केही व्याक्ति अँझै पक्राउ परेका छैनन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको अर्बभन्दा बढीको ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जना विचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
घटनाका नाईके को?
प्रहरीले तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।
सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
यो प्रकरणमा अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।
पक्राउ परेकाहरूको बयान र थप प्रमाणले चारवटा कसुरमा मुद्दा दायर गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पक्राउ परेकामाथि प्रहरीले संगठित अपराध, ठगी, किर्ने र राष्ट्रिय हित प्रतिकूल काम गरेको अभियोग लगाएर प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
यी चारवटै मुद्दामा छुट्टाछुट्टै सजाय हुने कानुनी व्यवस्था छ । सरकारी वकिल कार्यालयले प्रहरीलाई मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउन ताकेतासमेत गरेको थियो ।